Published On: Tue, Jul 3rd, 2012

चित्रमा रुखका विम्ब

काठमाडौं । कला सिर्जनाको सशक्त माध्यम हो । यसमा जीवन र प्रकृतिका विषय सबल र सशक्त रूपमा आएको हुन्छ । प्रकृति सिर्जनाको मूल स्रोत हो भने समाज र सामाजिक परिवेशले त्यसलाई कलात्मक र सान्र्दभिक बनाउन अहम भूमिका खेल्छ । चित्रमा प्रकृतिका विषयलाई लिई त्यसमा मानवका कारण उत्पन्न भएको विनाशलाई चित्रण गर्दै युवा कलाकार सुनिल कुशवाहाले ‘क्लाइमेन्ट चेन्ज’ शीर्षकमा पहिलो एकल कला प्रदर्शनी गरेका छन् ।

आइतबारबाट सुर भएको सो प्रदर्शनीको उद्घाटन पाकिस्तानी दूतावासका चार्ज डे अफियर्स असिफ हुसैन मेमोनले गरेका थिए । मानवीय कारणले वातावरणमा परेको प्रभावलाई कलाकार सुनिलले चित्रमा उतारेका छन् । प्रकृतिको विनाश होइन संरक्षणमा सबैको भूमिका र उत्तरदायित्व समान हुनुपर्ने तर्क कलाकारले अगाडि सारेका छन् । कलाकारले रुखलाई विषय विम्बका रूपमा क्यानभासमा उतारेका छन् । ललितकला केन्द्रीय विभाग त्रिविका प्रमुख डा. सीमा शर्मा शाहले सुनिलका चित्रका बारेमा भनिन्, ‘सुनिल कुशवाहाले आफ्नो क्यानभासमा चित्रको चित्रण गर्दा प्रकृतिको रहस्य थाहा पाउन प्रयास गरेका छन् । परिणामस्वरूप विभिन्न रंगको प्याच र धब्बाहरू अभिव्यक्त हुन गएको छ । कुनै चित्रमा रुखै रुख त कुनै चित्रमा एउटा–दुइटा रुखको संयोजन छ । रुखको हाँगामा लगाइएका गतिमय ब्रस स्ट्रोक्स उनको मनोभावनालाई अभिव्यक्त गरिरहेको छ । धेरैजसो कलाकृतिमा उनको प्रकृतिसँगको सानिध्य स्पष्ट भइरहेको छ । जुन बाल्यकालदेखिको बसोबासले तथा जंगल, नदीनाला, खोला र रुखसित आकर्षित हुँदै आएको अनुभूति चित्र हेर्दा थाहा पाउन सकिन्छ ।’

कलाकारले चित्रमा प्रकृतिसँगको आत्मीय सम्बन्धलाई भावनात्मक रूपमा चित्रण गरेका छन् । प्रकृतिका रहस्यमय चीजलाई उनले कलात्मक रूपमा क्यानभासमा उनेका छन् । ‘नेपाली कलामा सुनील कुशवाहाको उपस्थिति निकै सबल रूपमा देखा परेको मैले अनुभूति गरेको छु ।’ ललितकला एकेडेमीका कुलपति किरण मानन्धरले बताए । कलाकार समीक्षक मदन चित्रकारका अनुसार सुनिलले चित्रमा रुखको विम्बमार्फत् भावनाको अन्तर्यको कुरालाई प्रकट गरेका छन् । वातावरण संरक्षण गर्नुपर्छ भन्ने भावबाट उनका चित्र आएका छन् यो वर्तमानको जल्दोबल्दो समस्या हो । यसलाई उनले चित्रमा कलात्मक ढंगबाट चित्रण गर्ने प्रयत्न गरेका छन् ।’ रंग र विषय प्रस्तुतिलाई कलाकारले सचेततापूर्वक उठाएका छन् ।

‘प्रकृतिमा मानव निर्मित साधनले पारेको प्रभाव र त्यसबाट उत्पन्न परिवेशबाट प्रभावित भएर मैले चित्र रचना गरेको हुँ । मेरा चित्रमा वातावरण परिवर्तनले त्यसले निम्ताएको विकराल अवस्थालाई देखाउने कोसिस गरेको छु ।’ कलाकार सुनील कुशवाहाले बताए । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

Published On 653 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement