अस्पताल बन्दको विरोधमा बिरामी र आफन्त आन्दोलित
चितवन, साउन १ । नेपाल चिकित्सक सङ्घ चितवनले यहाँका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको विरोधमा यहाँका बिरामी र तिनीहरुका आफन्तजन आन्दोलित भएका छन् ।
देशकै महत्वपूर्ण क्षेत्र अस्पताल बन्द गर्नुले मानवअधिकार हनन र बाँच्न पाउने अधिकारसमेत खोसिएको भन्दै उनीहरुले सोमबार चितवनमा नारावाजी र प्रदर्शनसमेत गरे । चितवनको क्यान्सर अस्पतालबाट उनीहरुले विरोध ¥याली निकाल्दै चितवन प्रशासनलाई अस्पताल खुलाउन दबाब दिए । असपतालमा उपचार गराइरहेकी बेगम खानुतले आफूहरुको उपचारमा अस्पतालका चिकित्सकहरुले लापरवाही गरेकाले आन्दोलन थालेको बताए ।
आफूहरुको मागका विषयमा प्रशासन गम्भीर नबने कडा आन्दोलन गर्ने चेतावनीसमेत बिरामीहरुले दिएका छन् । आइतबारदेखि चिकित्सक सङ्घले पटकपटक अस्पतालमा आक्रमण र चिकित्सकमाथि नै कुटपिट हुन थालेको भन्दै चितवन जिल्लाका सम्पूर्ण असपतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको हो ।
सोमबारै चिकित्सकहरुले प्रशासनमा ज्ञापनपत्र दिँदै आफूहरुको सुरक्षाका ग्यारेन्टी र चिकित्सक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने माग गर्दै ३६ घण्टे अल्टिमेट्म दिएको भरतपुर असपतालका चिकित्सक डा. भोजराज अधिकारीले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बिरामीका आफन्त र अस्पतालका कर्मचारीको मागको विषयमा आफूहरु गम्भीर रहेको र समस्या समाधानको प्रयास जारी रहेको बताए ।























