मृतात्माको शान्तिका लागि गाईजात्रा निकालियो
काठमाडौं, साउन १९ । मृतात्माको शान्तिको कामना गर्दै शुक्रबार काठमाडौँको हनुमानढोकामा गाईजात्रा निकालिएको छ । वर्ष दिनभित्र परलोक भएका आफन्तको सम्झना र उनीहरुको मृतात्माको सुखशान्तिको कामना गर्दै गाई तथा मानिसलाई सिँगारेर सम्बन्धित घरबाट गाईजात्रा निकालिएको हो ।
विशेषगरी नेवार समुदायका मानिसले काठमाडौँका विभिन्न स्थानबाट निकालिएको गाईजात्रा नगरका विभिन्न स्थान हुँदै हनुमानढोकामा आई सो आसपास क्षेत्रको परिक्रमा गरी आ–आफ्ना घरमा फर्कने चलन छ । तत्कालीन राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको मृत्युबाट शोकाकूल भएकी रानीलाई ‘मानिसहरु अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी उनलाई सान्त्वना दिन सर्वसाधारणका घरबाट गाईजात्रा निकाल्ने प्रचलन चलाएको किंवदन्ती पाइन्छ । सो समयमा गाईको महत्वलाई उच्च स्थान दिइएर मृतात्मालाई शान्ति प्रदान गर्न गाईको प्रयोग गरेको तथ्य पाइन्छ ।
गाईजात्रा प्रदर्शन गर्ने क्रममा मानिसहरु जोगी, बहुला, नेतालगायतको भेषमा अभिनय गर्दै एकछिनमा हँसिलो मुद्रामा र केही छिनमा गम्भीर मुद्रामा प्रस्तुत भएका थिए । साना उमेरका बालबालिकाको प्रयोग भने ठूलो सङ्ख्यामा थियो । गाईजात्रा हेर्न आउने स्वदेशी तथा विदेशीले उनीहरुलाई फलफूल, पैसा, खानेकुरालगायतका वस्तु दिएका थिए ।
गाईजात्रा सामाजिक, साहित्यिक र राजनीतिक रुप लिई समाजमा व्याप्त विसङ्गतिप्रति हास्यव्यङ्गको माध्यमबाट गहिरो व्यङ्ग गर्ने पर्वका रुपमा लोकप्रिय छ । संस्कृतिविद् डा मिलन शाक्यले मृत्यु अवश्यम्भावी रहेको र प्राचीन समयमा यसको अभिलेख राख्ने चलन नभएको हुँदा तत्कालीन राजा प्रताप मल्लले यसलाई अभिलेखीकरण गर्न सुरुआत गरेपछि परम्पराका रुपमा यसले सांस्कृतिक पर्वको मान्यता पाएको बताए । काठमाडौं उपत्यकामा गाईजात्राको दिन सार्वजनिक बिदा दिने प्रचलन छ ।























