घुस खाने मालपोतका कर्मचारी कारबाहीमा
रुपन्देही, २८ साउन । भैरहवा मालपोत कार्यालय रुपन्देहीमा घुसखाने कर्मचारीहरू कारबाहीमा परेका छन् । मालपोतमा घुसको बिगबिगी भन्ने समाचार प्रकाशित भएपछि मालपोत कार्यालय भैरहवामा भूकम्पै गएको थियो । समाचार प्रकाशनपश्चात् भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले भैरहवा मालपोत कार्यालयका कार्यालय प्रमुख शंकर सुवेदीलाई घुस खाने कर्मचारीलाई तुरुन्तै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका थिए । मन्त्रालयको जनगुनासो शाखाले पनि यस विषयमा गम्भीर चासो लिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले समेत यस प्रकरणमा गम्भीर चाँसो लिंदै आरोपित कर्मचारीका विषयमा सत्यतथ्य छानबिन गरी प्रदिवेदन बुझाउन निर्देशन दिएका थिए ।
भैरहवा मालपोत कार्यालका प्रमुख सुवेदीले मन्त्रालय र प्रजिअको निर्देशनबमोजिम छानबिनमा आरोपित कर्मचारीले घुस लिएको प्रमाणित भएको बताउँदै घुस लिनेलाई लिएको घुस फिर्ता गर्ने सहमति पछि कर्मचारी ऐनअन्तर्गत रहेर तीन जनालाई चेतावनीमूलक र अन्यलाई सचेत गराइएको बताए । उनले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही र भूमिसुधार मन्त्रालयमा सिफारिस गरिने जनाएका छन् । केही दिनभित्र नै मन्त्रालय स्तरीय छानबिन समिति मालपोत कार्यालय भैरहवा आउने कार्यालय प्रमुख सुवेदीले बताएका छन् । अब मालपोल कार्यालयमा नयाँ तरिकाले जनताको काम सहज र सरल रूपमा गरिने बताउँदै सेवाग्राहीको काम सहज रूपमा नगर्ने कर्मचारीलाई कडा कारबाही गरिने उनले बताए । केही सयम पहिला भैरहवा मालपोत कार्यालय रुपन्दहीमा चार दिदीबहिनीको जग्गा नामसारी गर्ने क्रममा मालपोत कार्यालय रुपन्देहीका कर्मचारीले घुस लिएका थिए ।
जिल्ला मालपोत कार्यालय रुपन्देहीको सिनपा १० भुजौली फाँट हेर्ने मोठ फाँटमा कार्यरत कर्मचारी नासु धातानन्द कोइरालाले सुभावती कुर्मी, कमला कुर्मी, प्रेमा कुर्मी र अनारकली कुर्मीको नाममा जग्गा नामसारी गरिसके पछि नि:शुल्क पाइने लालपुर्जा बनाउने क्रममा लालपुर्जा बनाउन प्रतिलालपुर्जा १०० रुपैयाँ लाग्छ भनी चार जना दिदीबहिनीसँग लिएको चार सय रुपैया कार्यालय प्रमुख शंकरप्रसाद सुवेदीको निर्देशनमा सम्बन्धित व्यक्तिहरूलाई नै फिर्ता गरेका हुन् । लालपुर्जा प्रिन्ट गरे बापत कम्प्युटर फाँटका कर्मचारी रामह्दय यादवले समेत चार दिदीबहिनीसँग २०० रुपैया लिएको र यी दिदीबहिनीहरूको सोही जग्गा सर्जिमन बुझ्न जाँदा मालपोतका कर्मचारी नासु रूक्मागत भट्टराई ५ हजार आफूहरूको खर्च लाग्ने भन्दै विनारसिद रकम लिएको बताएका थिए ।























