Published On: Sun, Aug 12th, 2012

निकुञ्जक्षेत्रको १,५०० बिगाहा जमिन कटान

चितवन, २८ साउन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर बग्ने नदीले यहाँको १ हजार ५ सय बिगाहा जमिन कटान गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज ऐनमा व्यवस्था भएअनुसार कटान भएको जमिनको निकुञ्जले रु २ करोड ५० लाखभन्दा बढी रकम क्षतिपूर्ति दिनुपर्ने एक अध्ययनले देखाएको छ । स्थानीय संरक्षणकर्मी विजय भुजेलको संयोजकत्वमा गठित अध्ययन टोलीको प्रतिवेदन र चितवनको मालपोत कार्यालयको मूल्यांकनअनुसार यो तथ्यांक आएको हो ।  

रु २ करोड ८४ लाखमध्ये शुक्रबार मात्रै ४१ कृषकलाई रु ४० लाख क्षतिपूर्तिस्वरूप भुक्तानी दिइए पनि झन्डै रु २ करोड ५० लाखको हाराहारीमा रकम दिन बाँकी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए । निकुञ्जका सहायक संरक्षण अधिकृत पौडेलका अनुसार प्रतिपरिवार क्षतिपूर्ति दिइएको रकम रु. १२ हजारदेखि रु. २ लाख ५० हजारसम्म छ ।  

सबैभन्दा बढी रु. २ लाख ५० हजार पाउनेमा चितवन मेघौलीकी अन्तरियादेवी थारू रहेकी छन् । निकै लामो समयदेखि यहाँ बाढीबाट कटान भएको जग्गाको क्षतिपूर्ति अड्किएर बसेको थियो । अहिलेसम्म कटान गरिएको क्षेत्रको प्रतिकठ्ठा रु १३ हजारदेखि रु. ६० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको निकुञ्जले जनाएको छ । चितवन र नवलपरासीका मध्यवर्ती क्षेत्र नापी कार्यालय र निकुञ्जको संयुक्त पहलमा गत वर्ष कटानबारे अध्ययन गरिएको हो । २०५८ सालको तथ्यांकअनुसार यहाँ झन्डै १ हजार ४ सय बिगाहा जमिन कटान भएको थियो । चितवनको रिउ नदी, राप्ती नदी र नारायणी नदीले जमिन कटान गरेका हुन् ।

Published On 617 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement