विश्व कराँते च्याम्पियनसिप प्रतियोगिताको लुम्बिनीमा सचिवालय
लुम्बिनीमा हुन गइरहेको विश्व कराँते च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि लुम्बिनीमा मुख्य सचिवालयस्थल छनौट गरिएको छ ।
‘कराँते फर पिस’ भन्ने नाराका साथ सन् २०१३ फेब्रुअरीमा लुम्बिनीमा हुने प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि सचिवालय स्थापनार्थ स्थल छनौट गरिएको हो ।
कराँते महासंघका पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसीको नेतृत्वमा गएको टोलीले मनाङ समाज मोनास्ट्री परिसरमा सचिवालय राख्ने निर्णय गरेको छ ।
खेलमा नेपालसहित विश्वका ३० भन्दा बढी मुलुकका खेलाडीहरू सहभागी रहने जनाइएको छ ।
खेलाडीहरूलाई खेल अवधिभर लुम्बिनी परिसरभित्रै राखी आवास तथा खाना र उनीहरूलाई गौतम बुद्धको जिवनीसँग प्रत्यक्ष सहभागी गराउनका लागिकार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले जनाए । विश्वमा लुम्बिनीको प्रचार–प्रसार गर्न र गौतम बुद्धका बारेमा छिमेकी मुलुकले गरेको भ्रामक प्रचार चिर्नका लागि पनि यो प्रतियोगिता महत्त्वपूर्ण हुने समाजसेवी सतीशकुमार चौधरीले बताए ।
प्रतियोगिताका लागि स्थानीयस्तरबाट सबै प्रकारका सहयोगहरू गर्ने चौधरीले प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिता लुम्बिनीमा गर्न पाउनु अवसर र चुनौती दुवै भएको स्थानीयवासीको भनाइ रहेको छ । पहिलो पटक लुम्बिनीमा गर्न लागेको प्रतियोगितामा आगामी दिनहरूमा विश्वका सबै मुलुकहरूमा पुर्याउने लक्ष्य आयोजकले लिएको छ ।























