Published On: Sat, Aug 18th, 2012

शिलाजीत उत्खनन नहुँदा लाखौंको नोक्सानी

 

म्याग्दी, भदौ २ । म्याग्दीका भीर पहरामा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग गर्न सकिने जडीबुटी शिलाजीत उत्खनन हुन सकेको छैन् । 

प्राविधिक ज्ञान र उपकरणको अभावमा उत्खनन नहुँदा बर्सेनि लाखौँको शिलाजीत नष्ट हुने गरेको छ । शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि नष्ट हुन थालेको हो । म्याग्दीका बाबियाचौर, ज्याम्रुककोट, भकिम्ली, कुइनेमङ्गले, देवीस्थान, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजीत पाइन्छ । 

शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको देवीस्थान जुक्जाका यमप्रसाद शेरचनले बताउनुभयो । नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भीर पहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजीत बन्ने गर्दछ । कालो शिलाजीतको रस नियमित सेवन गर्नाले धातु गानोगोला ग्यास्ट्रिक, नसासम्बन्धीलगायतका रोग निको हुने र यौनशक्ति बढ्ने सर्वसाधारण बताउँछन् । शिलाजीतको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै पाइदा पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक रामचन्द्र ढकालले बताए । 

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको बाबियाचौरका फडिन्द्रप्रसाद रिजालले बताए । तीन दशकदेखि स्थानीय जडीबुटीको प्रशोधन गरी आर्युर्वेदिक औषधि बनाउँदै आएका रिजालले पहराबाट शिलाजीत निकाल्दा निकै जोखिम मोल्नुपर्ने बताए । बजारमा प्रति १० ग्राम शिलाजीत रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ । तर अस्वस्थ प्रतिस्पर्धाका कारण व्यापारीहरु यसतर्फ आकर्षित हुन नसकेको बताउँछन् । पहराबाट शिलाजीत निकाल्ने निकै जोखिम मोल्नुपर्ने र धेरै लगानी लाग्ने तर बजारको निश्चित नभएकाले यसको उत्खननतर्फ ध्यान दिन नसकिएको हो रिजालले भने ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा शिलाजीतको निकासी हुने गरेको छ । कार्यालयका नायब सुब्बा नवराज पौडेलका अनुसार पछिल्लो समय शिलाजीत निकासीको अनुमति लिन कोही आएका छैनन् ।

Published On 615 days ago
advertisement

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement