असी लाखको मह
कैलाली, भदौ ४ । गत आर्थिक वर्ष कैलालीमा करिब रु ८० लाखको मह उत्पादन भएको छ । एक आर्थिक वर्षको अवधिमा सो रकम बराबरको मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।
सो कार्यालयका अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा मह उत्पादन निकै बढेको छ । गत आर्थिक वर्ष जिल्लामा २६ मेट्रिक टन मह उत्पादन भएको छ । अघिल्लो आव २०६७/०६८ मा १६.५ मेट्रिक टन मह उत्पादन भएको थियो । उन्नत जातको मिलिफेरा नामक मौरीपालनबाट १३ र सेराना मौरीपालनबाट १३ गरी जिल्लामा २६ मेट्रिक टन मह उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत जीतबहादुर थापाले बताए । उनका अनुसार कैलालीमा ४०० भन्दा बढी परिवार मौरीपालन व्यवसायमा लागेका छन् ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाभर एक हजार ३०० मौरीको घार रहेकामा गत आवमा सङ्ख्या वृद्धि भएर एक हजार ५०० पुगेको सो कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लोपटक कृषक माहुरीपालन व्यवसायतिर आकर्षित हुन थालेका छन् । माहुरीपालन व्यावसायबाट मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका कृषक सो व्यवसायतिर आकर्षित हुन थालेका हुन् ।























