राष्ट्रपतिको पछिल्लो सक्रियताबारे सरकार र एमाओवादीबीच छलफल
काठमाडौं, भदौ ५ । प्रतिपक्षी दलहरुले राष्ट्रपति डा. रामवरण यादवलाई सक्रिय हुन आह्वान गरिरहेका बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेतासँग छलफल गरेका छन् ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा सोमबार भएको छलफलमा राष्ट्रपति डा. यादवले सरकारले पठाएको निर्वाचनसम्बन्धी अध्यादेश अस्वीकार गरिसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि सरकार र एमाओवादीले तय गर्नुपर्ने रणनीतिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरलले जानकारी दिए ।
छलफलमा पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको कार्यकर्ता प्रशिक्षण र सातौँ विस्तारित बैठकपछि अख्तियारी गरिएको नीतिका विषयमा पनि कुराकानी भएको थियो ।























