ट्र्याक्टरमा आगजनी
मोरङ, भदौ ५ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीअन्तर्गत एकीकृत स्वायत्त लिम्बुवान परिषद्का कार्यकर्ताले मोरङको मधुमल्ला र जाँते गाविसको बीचमा पर्ने धानखेती भन्ने स्थानमा आज एउटा ट्र्याक्टरमा आगजानी गराइदिएका छन् ।
दुई महिनाअघि चुरे वन संरक्षण समिति गठन गरेर चुरे क्षेत्रका ढुङ्गा, बालुवा तथा गिट्टी निकासीमा प्रतिबन्ध लगाउँदै आएका परिषद्का कार्यकर्ताले आधा दर्जन ट्र्याक्टरसमेत तोडफोड गरेका छन् । वन प्रशासन र ट्र्याक्टर धनीको मिलोमतोमा चुरे क्षेत्रका ढुङ्गा, बालुवा र गिट्टीको बहानामा काठ तस्करी हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न चेतावनीस्वरूप सो घटना गराइएको चुरे वन संरक्षण समितिका सचिव प्रवेश मिभकले बताए ।
एक साताअघि चुरे क्षेत्रका ढुङ्गा, बालुवा र गिट्टी निकासीमा प्रतिबन्ध लगाइने भनी प्रेस विज्ञप्ति प्रकाशन गरी सार्वजनिक गरिए पनि त्यसलाई बेवास्ता गरिएको बताउँदै सचिव मिभकले भने– पुन ःबेवास्ता गरी निकासी गरिए कडा कदम चाल्ने छौँ, त्यसको जिम्मेवारी प्रशासन र ट्र्याक्टर धनी नै हुनुपर्छ ।























