चेपाङलाई आत्मनिर्भरतर्फ उन्मुख अभियान
मकावानपुर, भदौ ५ । मकवानपुर जिल्लाको पश्चिम भेगका विभिन्न ओडारमा अहिले पनि आश्रय लिई बसेका ७० चेपाङ परिवारलाई जिविस तथा जिल्ला कृषि विकास कार्यालय मकवानपुरले नियमित आर्थिक आत्मनिर्भरतर्फ उन्मुख हुन अभिप्रेरित गरेको छ ।
ती चेपाङ परिवारलाई जङ्गल नजिक रहेको भिर, पाखा जग्गामा उन्नत जातको केरा, अम्रिसो, मौसमी तरकारी एवम् चिउरीको बिरुवा लगाउने अभियान सञ्चालन गरिएको मकवानपुर जिविसले जनाएको छ । जिविसले गत आव २०६८/०६९ को अवधिमा रु तीन लाख ८० हजार अनुदान उपलब्ध गराई तरकारी, केरा, अम्रिसो, चिउरीको बिरुवा ती चेपाङ परिवारलाई वितरण गरेको थियो ।
यसैगरी जिल्ला कृषि विकास कार्यालयबाट गत आवमा रु एक लाख ५० हजारको लागतमा केराको बिरुवा चेपाङलाई वितरण गरी रोप्न लगाइएको जनाएको छ । साथै ती चेपाङ समुदायको ५० जना अगुवा कृषकलाई चिउरी तथा मौसमी तरकारी र केराखेती लगाउने विषयमा स्थानीय मनहरि गाविसको ज्यामिरेमा पाँचदिने अनुशिक्षण कक्षा सञ्चालन गरिएको कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ ।























